नयाँ प्रहरी प्रमुखले तल्लो तहका कर्मचारीका लागि गर्नुपर्ने ‘मुख्य काम’

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ०१


काठमाडाैं । नेपाल प्रहरीमा तल्लो तहका कर्मचारीहरूलाई सङ्गठनको मेरुदण्ड मानिन्छ। तर ती कर्मचारीले सङ्गठनभित्र भोग्ने पीडाको चर्चा प्राय: हुँदैन। मङ्गलवार ठाकुर ज्ञवाली नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएका छन्। उक्त नियुक्ति हुनुभन्दा अघि तल्लो तहका केही प्रहरी अधिकारी र कर्मचारीसँग बीबीसीले कुरा गरेको थियो। उनीहरूले नयाँ प्रहरी महानिरीक्षकले तल्लो तहका कर्मचारीको हकहित र वृत्तिविकासका लागि धेरै काम गर्नुपर्ने बताएका छन्।

राजीनामा गरेर बीचैमा जागिर छोड्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने, सेवा सुविधा वृद्धि गर्नुपर्ने तथा महिला प्रहरीलाई पनि समान अवसर दिइनुपर्ने आदि सुझाव केही प्रहरीले दिएका छन्। नेपाल प्रहरीमा विभिन्न तहका ७५,००० भन्दा बढी कर्मचारी छन्। बीबीसीले कुराकानि गरेका प्रहरीहरूका महानिरीक्षकले गर्नुपर्ने मुख्य चार काम यी हुन्:

राजीनामा गर्ने लहरको अन्त्य
नेपाल प्रहरीमा जागिरको अवधि पूरा नगरी बीचैमा राजीनामा गरेर जागिर छोड्ने प्रचलन बढेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ। विगत साढे दुई वर्षमा ७,००० भन्दा बढी प्रहरी कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा अधिकांश तल्लो तहका कर्मचारी रहेको प्रहरीकै तथ्याङ्कले देखाएको छ।


खासगरी लामो समयदेखि सेवासुविधा वृद्धि नहुनु, भएका सुविधा कटौती हुने हल्ला हुनु र जागिरको अवधि लामो भएकाले शारीरिक बल सकिएपछि आय आर्जनको काम गर्न नसकिने भएकाले जागिर छोड्नु पर्ने बाध्यता रहेको तल्लो तहका प्रहरी कर्मचारीको भनाइ छ।

प्रहरी चौकी बिर्ताबजार अनारमनीमा कार्यरत प्रहरी हवल्दार लक्ष्मी खवासले भनिन्, "मैले जागिर खाँदा १६ वर्ष जागिर अवधिका लागि खाएकी हुँ। अहिले २० वर्ष पुर्‍याइएको छ। सेवासुविधा राम्रो भए त राम्रै हो। तर सुविधा पनि राम्रो नहुनु अनि बूढी भएपछि जागिर छोड्दा केही काम गर्न सकिँदैन।"

इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रहरी हबल्दार राजकुमार श्रेष्ठका अनुसार परिवारसँग नजिक हुन नपाएका कारण पनि प्रहरीमा राजीनामा दिने प्रचलन बढेर गएको हो। उनले भने, "परिवारबाट टाढा नबनाउने, सेवासुविधा बढाउने काम भए प्रहरीले भविष्य सुरक्षित छ भन्ने महसुस गर्थ्यो। महँगी बढेको बढ्यै छ। सुविधा बढ्दैन।"

महिलालाई पुरुषसरह प्राथमिकता
अन्य क्षेत्रमा जस्तै प्रहरीमा पनि महिलालाई समान प्राथमिकता नदिइने प्रहरीका तल्लो तहका कर्मचारीहरू बताउँछन्। महिला प्रहरीलाई पनि 'कमान्ड'को अवसर पुरुषलाई जस्तै दिइए त्यो महिला प्रहरीले कुशलतापूर्वक निर्वाह गर्ने विगत लामो समयदेखि प्रहरी चौकीको कमान्ड सम्हाल्दै आएकी प्रहरी सहायक निरीक्षक जानुका चौहान बताउँछिन्।

उनले भनिन्, "मैले पुरुष प्रहरीलाई पनि कमान्ड गरेर बसेकी छु। क्षमता छ धेरै महिला प्रहरीको। तर अवसर दिइनुपर्छ।" उनकै कमान्डमा रहेकी प्रहरी जवान स्मृति भट्टराईको त्यही तर्क छ। उनी भन्छिन्, "महिला प्रहरीले अवसर पाए पुरुषभन्दा इमान्दार भएर काम गर्न सक्छन्।"

सरुवा-बढुवामा भनसुनको प्रवृत्ति अन्त्य
कतिपय प्रहरी कर्मचारीका अनुसार सरुवा तथा बढुवाका लागि भनसुनको अवस्था विद्यमान रहेको छ। उनीहरू भन्छन्, "क्षमता तथा मापदण्ड पुग्दा पनि भनसुन नगरी सरुवा-बढुवा गाह्रो छ।"


प्रहरी सहायक निरीक्षक चौहानका अनुसार तल्लो तहका कर्मचारीका लागि उच्च तहका कर्मचारीले विचार पुर्‍याउनै पर्छ। उनले भनिन्, "सामान्य नीतिमा चल्नुपर्ने कुरा भनसुनमा चल्दा नराम्रो हुन्छ। मलाई लाग्छ नयाँ आईजीपीले यो कुराको अन्त्य गर्नुहुनेछ।"

समयमा पोसाक पाउने व्यवस्था

प्रहरी जवान ज्ञानबहादुर खड्काले सात बर्षको जागिरको अवधिमा एक पटक पनि हिउँदमा लगाउने पोसाक नपाएको बताए। जागिरको सुरुमा तालिम गर्दाको बेलामा एक पटक जाडोमा लगाउने प्यान्ट लगाएको तर त्यसयता जाडोको कपडा पूर्ण रुपमा नपाएको उनको भनाइ छ।

उनले भने, "कहिले शर्ट मात्र आउँछ कहिले प्यान्ट मात्र। पूरै पोसाक त मैले अहिलेसम्म पाएकै छैन।" प्रहरी हवल्दार लक्ष्मी खवासका अनुसार कतिपय तल्लो तहका प्रहरी कर्मचारीले फाटेको कपडा लगाएर काममा खटिनुपर्ने अवस्था छ।

उनले भनिन्, "कसैका जुत्ता फाट्छन् तर समयमा आउँदैन। फाटेका जुत्ता लगाएर हिँड्नुपर्ने अवस्था छ।" बिर्ताबजार प्रहरी चौकीमा पुग्दा काममा प्रहरी जवान स्मृति भट्टराई फाटेको जुत्ता लगाएर काम खटिएकी थिइन्। पतिपत्नी सँगै रहन पाउनुपर्ने अवस्था बनाउनुपर्ने विवाहित प्रहरी कर्मचारीको माग छ।

बीबीसी


प्रतिक्रिया दिनुहोस्