वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त हुनुभएको छ। उहाँलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गर्नुभएको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लाग्नुभएको हो। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आउनुभएको थियो।
वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो। वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लाग्नुभएको हो।