काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित हुनुभएको छ। युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।
अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित हुनुभएको हो। दुलालले २८५ मत प्राप्त गर्नुभयो भने गौतमले १९३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिनुभयो। कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदका लागि निर्वाचन हुँदा ४७७ मत खसेको थियो।
शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित हुनुभएको छ। यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।