श्रीमतीलाई भेन्टिलेटरमा राखेर प्रहरी कार्यालय छिरेपछि…

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  २ : ४५


काठमाडौँ । मंगलबार दिउँसो १२ बजेर ९ मिनेटमा बा २ झ ४२६८ नम्बरको एम्बुलेन्स महानगरीय प्रहरी वृत्त तीनकुनेको गेटबाट भित्र छिर्छ । 

गेटमा बसेका प्रहरी सोधखोजविनै मुल गेट खोलिदिन्छन् । एम्बुलेन्सको पछाडिको ढोकाबाट एक युवक ओर्लिन्छन् अनि ह्वील चियरमा रहेकी बिरामीलाई उतार्न सहयोग माग्छन् । प्रहरीहरूकै सहयोगमा ती बिरामी महिलालाई भुइँमा राखिन्छ ।

उनलाई किन प्रहरीमा ल्याइयो ? को हुन् उनीहरू ? वरिपरि भेला भएकाहरू जिज्ञासु नजरले हेर्न थाल्छन् । एकाएक यहाँ भीड जम्मा हुन्छ । ह्वील चियरको एकातिर पिसाबको पाइप झुन्ड्याइएको छ । बिरामीको घाँटीमा राखिएको पोर्टेबल पाइप (बोकेर हिँड्न मिल्ने) भने भेन्टिलेटरमा जोडिएको छ । यसकै सहायताले ती बिरामी सास फेरिरहेकी छन् ।

उनी हुन्, चेली तामाङ । जो जेब्रा क्रसबाट बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बन्न पुगिन् । तीनकुने प्रहरी वृत्तअगाडिको जेब्राक्रसमा बा ६५ प ७५४९ नम्बरको मोटरसाइकलले २०७३ चैत २५ मा ठक्कर दिएपछि उनको अवस्था यस्तो बनेको हो । दुर्घटनापछि उनी उठ्न र बोल्न नसक्ने गरी थलिएकी छन् । उनी दुई वर्ष १० महिनादेखि भेन्टिलेटरमा छिन् ।

‘ठक्कर दिने कोही पनि सम्पर्कमा नआएपछि जहाँ दुर्घटना भएको हो, त्यहीँको प्रहरीलाई दबाब दिन बिरामी लिएर आएको हुँ,’ चेलीका श्रीमान् वसन्त झोँक्किए, ‘जसले मेरो श्रीमतीको हालत यस्तो बनायो, उसैले खर्च गर्ने दायित्व होइन ?’

यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी अगाडि पनि उनले श्रीमतीलाई ह्वील चियरमा राखेर लगेका थिए । त्यहाँ लैजाँदा पनि ठक्कर दिने चालक र मोटरसाइकल धनी सम्पर्कमा नआएको भन्दै उनले मंगलबार भेन्टिलेटरबाट झिकेर श्रीमतीलाई तीनकुने लगेका हुन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ। 


प्रतिक्रिया दिनुहोस्