काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली हुने निश्चित जस्तै भएको छ।
वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले प्रहरी महानिरीक्षक (आइजीपी) को लागि ठाकुर ज्ञवालीको नाम मात्रै सिफारिस गरेकाले आइजीपी हुने निश्चित भएको हो।
स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ज्ञवालीलाई आइजीपी बनाउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लिनुभएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपीबारे निर्णय गरेको थिएन। स्रोतका अनुसार सोमबारको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री थापा र मुख्य सचिव लोकदर्शन रेग्मीसँग छुट्टै बसेर आइजीपी नियुक्तिबारे छलफल गरेको र सोही छलफल अनुसार नै ज्ञवालीको नाम अघि बढाइएको बताइएको छ।
आइजीपी सर्वेन्द्र खनालसहित तीन एआइजी र उहाँको ब्याचका डीआइजीहरुले सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन्।
२०४६ साल माघ २९ गते खनालसँगै प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र १८ जना डीआइजीले पनि एक सातापछि सेवा अवधिका कारण अनिवार्य अवकाश पाउँदैछन्।
यो अवकाशपछि नेपाल प्रहरीमा आइजिपीसँगै तीन एआइजी र १८ डीआइजीको पद पनि रिक्त हुनेछ। खनालको ब्याजले अवकाश पाएपछि ज्ञवाली ज्येष्ठता र वरिष्ठताका आधारमा सबैभन्दा वरिष्ठ डीआइजी हुनुहुनेछ।
ज्ञवालीले २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गर्नुभएको हो।
ज्ञवालीसँगै डिआइजी तारिणीप्रसाद लम्साल पनि आइजीपीको दौडमा हुनुहुन्थ्यो।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिना प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नुहुनेछ।