भौवानाका (देउखुरी) । भारतसँग जोडिएका दाङदेउखुरीका साना–ठूला ३४ वटा नाकामा चार हजार बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन्।
पिउने पानीको स्रोत नहुँदा नाकाबासी खोलाको पानी पिउन बाध्य भएका हुन्। दाङको पूर्व अर्ना नाकादेखि पश्चिमको भौवा नाकासम्म बसोबास गर्ने १० हजार बढी नाकाबासीलाई खानेपानीको निकै समस्या रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी शान्तकुमार बुढाले जानकारी दिनुभयो।
पानीको स्रोत नहुँदा वर्षौंदेखि खोलाको पानी पिउन बाध्य भएको उहाँले बताउनुभयो। पानीको समस्या समाधानका लागि पटक–पटक पहल गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ। ‘स्थानीय तहको चुनावमा पनि पानीको समस्या उठाइएको थियो’, बुढाले भन्नुभयो, ‘आश्वासन त पाइयो तर पानीको समस्या समाधान भएको छैन।’
नाकाबासीहरु वर्षायाममा त आकाशे पानी थापेर प्रयोगमा ल्याउने गर्दछन्। गाउँपालिका क्षेत्रभित्र नाकाबासीले वर्षौंदेखि पानीको समस्या भोग्दै आएको खांग्रा नाकाबासी मंगला खत्रीले बताउनुभयो।
वर्षौंदेखि खोलाकै पानी पिउँदै आएका राजपुर गाउँपालिका वडा नं. १ पटौली नाका निवासी हेमराज गिरीले दाहसंस्कार गर्ने खोलाकै पानी पिउनुपरेको दुखेसो गर्नुभयो।
‘यही खोलामा शव जलाउने गरेका छौँ, यही खोलाको पानी पिउन बाध्य छौँ, उहाँले भन्नुभयो, ‘शव जलाएको अंगार पन्छाएर पानी पिउनुपर्छ।’
वर्षात लागेपछि खोलाको पानी धमिलो हुन्छ। तर पनि पानीको विकल्प नभएपछि घिन मान्दै त्यहीँ पानी पिउनु परेको उनीहरुको भनाइ छ। वर्षातमा नाकाका खहरे खोलाहरु पूरै धमिलो हुन्छन्, पानी पिउन योग्य हुँदैनन्।
हिउँदमा खोलाको पानी सङ्लो भए पनि मसिना ढुङ्गाका कणहरु देखिन्छन्। विकल्प नहुँदा पुस्तौंदेखि खहरे खोलाको पानी पिउन बाध्य रहेको पटौली नाकानिवासी गिरीले बताउनुभयो।
नजिकै जरुवा, कुवा केही छैनन्। त्यसैले खोलाको धमिलो पानीको भर पर्नुको विकल्प नभएको गिरीले बताउनुभयो।