अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने आशा बढेको छ।
शुक्रवारदेखि आगलागीबाट प्रभावित उक्त क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ। वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो। केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो।
सबै डढेलो निभ्ने आशा
ठूलो पानीले ३० वटा विभिन्न डढेलो निभाइदिएको छ। सिड्नीको उत्तर र दक्षिणमा नोभेम्बर महिनादेखि बलिरहेको 'विशाल डढेलो' निभेका छन्। ती प्रत्येक डढेलोले पाँच/पाँच लाख हेक्टर क्षेत्रफल प्रभावित पारेका थिए।
न्यू साउथ वेल्सको अग्निनियन्त्रक निकायका अनुसार त्यहाँ अझै चारवटा डढेलो भने अनियन्त्रित ढङ्गले बलिरहेको छ। सो राज्यभरि कुल २४ डढेलो अझै बलिरहेका छन्। उक्त निकायका प्रवक्ताले मौसम पूर्वानुमानअनुसार अब बाँकी डढेलो छिट्टै निभ्ने ठानिएको बताए।
'यो साताको अन्त्यसम्ममा अनियन्त्रित डढेलो एउटा पनि बाँकी नरहने आशा गरेका छौँ,' उनले भने। अस्ट्रेलियाका ठूल्ठूला झाडीक्षेत्रमा यसपालि लागेको डढेलो अत्यन्तै डरलाग्दा थिए। ती डढेलोबाट न्यू साउथ वेल्समा सबभन्दा धेरै प्रभाव पर्यो।
अभूतपूर्व आकार र सघनतासहितका ज्वालाहरू जलवायु परिवर्तनको असरको परिणाम भएको वैज्ञानिकहरूले बताएका थिए। तापक्रम बढ्दै जाँदा देशभरि झन् सुक्खा देखा परेको थियो।