कोरोनाका बिरामीका लागि नेपालमा ३५ अस्पतालमा तयारी

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : ४२


काठमाडौं । नोवल कोरोना भाइरसबाट सङ्क्रमण भएका बिरामीहरूको उपचारका लागि ३६ अस्पतालमा १ सय ४७ बेडहरु तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन परिचालन केन्द्रका सहप्रवक्ता सागर दाहालले काठमाडौँ उपत्यकामा रहेका ३६ वटा अस्पतालमा उपचार गरिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

उहाँले नोवल कोरोना भाइरसको लक्षण फेला परेको पाइएमा सबैभन्दा पहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र ललितपुरको पाटन अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

उहाँले त्यसपछि उपत्यकामा रहेका ६ वटा हव अस्पताल र अन्य स्याटलाइट अस्पतालमा व्यवस्था गर्न मङ्गलबार छलफलका लागि बोलाइएको समेत जानकारी दिनुभयो ।

उहाँले चीनबाट ल्याउने विद्यार्थीहरूका लागि विशेष प्रोटोकल बनाएर सुरक्षित रुपमा राख्न लागिएको समेत बताउनुभयो । त्यसका लागि सोमबार इपिडेमियोलोजी एण्ड डिजिज कन्ट्रोल डिभिजनले कर्मचारीहरुलाई विशेष तालिम दिएको उहाँले बताउनुभयो ।

उहाँले चीनबाट ल्याइएका विद्यार्थीहरूलाई राखिने क्वारेन्टाइनमा खटाइने स्वास्थ्यकर्मीहरू, कर्मचारीहरु, एम्बुलेन्सका कर्मचारी, एयरपोर्टमा रहने कर्मचारी, जहाजमा रहने कर्मचारी सबैलाई अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिइएको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौं उपत्यकामा विरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल महाराजगञ्ज, विर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल, भक्तपुर अस्पताल हब अरुपताल हुन भने टेकुस्थित शुक्रराज ट्रपिकल एण्ड सरुवारोग अस्पताल स्याटलाइट अरुपताल रहेको छ ।   


प्रतिक्रिया दिनुहोस्