माओवादी नेता बोगटीको शालिक अनावरण

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १ : २९


नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पूर्वसहकर्मी माओवादी नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’को शालिक अनावरण गर्नुभएको छ।

नुवाकोटको विदुर नगरपालिका ७ तुप्चेमा निर्माण गरिएको नेता बोगटीको शालिक सोमबार अध्यक्ष प्रचण्डले अनावरण गर्नुभएको हो ।

शालिक अनावरण गर्दै अध्यक्ष प्रचण्डले बोगटी अगाडि भएपछि जस्तोसुकै अप्ठ्यारो पनि पार लगाउन सक्ने आँट मिल्ने गरेको बताउनुभयो।

‘पोष्ट बहादुर बोगटी अगाडि भएपछि जस्तोसुकै अप्ठ्यारो नि पार लगाउन सक्ने आँट मिल्थ्यो, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उहाँको अभाव सबैभन्दा बढी मलाई भएको छ।’

माओवादी आन्दोलनमा बोगटीले सधैं पार्टी नेतृत्व र विचारको रक्षाका लागि निसर्त सहयोग गरेको स्मरण गर्दै प्रचण्डले देश, जनता अनि पार्टीप्रति सधैं निष्ठावान् र इमान्दार व्यक्तित्वको रुपमा उहाँको योगदान निकै उच्च रहेको बताउनुभयो। 

जनयुद्धको बलमा मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता पोष्टबहादुर बोगटीको उहाँकै जन्मथलोमा शालिक निर्माण गरिएको हो।

१५ लाख लागतमा निर्मित शालिकसँगै चौतारो पनि निर्माण गरिएको छ। विभिन्न संघ संस्था, विदुर नगरपालिका, वडा कार्यालय, स्थानीय युवा क्लवहरु लगायतको आर्थिक सहयोगमा दुई महिनाको अवधिमै शालिक निर्माण गरिएको शालिक निर्माण समितिकी अध्यक्ष कल्पना रिमालले जानकारी दिनुभयो।

शालिक अनावरणपछि अध्यक्ष प्रचण्डले चण्डेश्वरी माविको अभिभावक भेलालाई पनि सम्बोधन गर्नुभएको थियो।

सामुदायिक विद्यालयको भवन उद्घाटन

यसैबीच अध्यक्ष प्रचण्डले सोमबार नुवाकोटकै एक सामुदायिक विद्यालयको समेत उद्घाटन गर्नुभएको छ।

भारत सरकारद्वारा निर्मित नुवाकोटको किस्पाङ्मा ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नुभएको हो।

नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएको छ भने विद्यालयको तीन तले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन्। दुई तले शैक्षिक भवनमा चार वटा कक्षाकोठाका साथै फर्निचर र छात्रछात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ।

शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले सो परियोजनाको कार्यान्वयन गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन, भारतीय दूतावासको पुनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोर लगायतको पनि उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस्