दाङ । तुलसीपुर उपमहानगरपालिका स्तरिय दोस्रो तथा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को उपाधि गोरखा मावि तुलसीपुरले हात पारेको छ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा सहिदस्मृति आवासीय मावि तुलसीपुर १७ वनकट्टीको संयोजनमा सञ्चालित प्रतियोगिताको सोमबार सम्पन्न प्रतियोगितामा गोरखा माविले लगातार चौथो वर्ष पनि उपाधि जितेको हो।
प्रतियोगितामा गोरखा माविले कुल १३ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै उपाधि चुम्न सफल भएको हो।
त्यस्तै ज्ञानज्योती सेकेण्डरी स्कुलले तुलसीपुर ६ स्वर्ण, १० रजत र ६ कास्य पदकका साथ दोस्रो स्थान हात पार्दा महेन्द्र मावि तुलसीपुर ३ स्वर्ण, १ रजत र २ कास्य पदकका साथ तेस्रो भयो ।
त्यस्तै गुरुजजुर मावि रक्षाचौर २ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित सान्त्वना स्थान हात पार्न सफल भएको प्रतियोगिता सचिवालय सदस्य बालकृष्ण शाहले जानकारी दिनुभयो।
यसैबीच प्रतियोगिताको समापन समारोह तुलसीपुर उपमहानगरपालिकाका उपमेयर माया आचार्यको अध्यक्षता तथा शिक्षामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जीवन गौतमको प्रमुख आतिथ्यमा भएको थियो।
प्रमुख अतिथि गौतमले उपाधि विजेताहरुलाई पुरस्कार र ट्रफी प्रदान गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन प्रतियोगिताको संयोजनको जिम्मा पाएको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले गर्नुभएको थियो।
लक्ष्मण बस्नेतबाट