क्यानडाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ९ : २१


काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपाल भ्रमणमा रहनुभएका क्यानडाको उपल्लो सदन९ सिनेट० का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेको सभामुख फ्युरी नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार सिंहदरबारस्थित राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सचिवालयमा उहाँसँग भेटवार्ता गरेको हो।

भेटका क्रममा नेपाल र क्‍यानडाबीचको संसदीय सहकार्य लगायत विषयमा कुराकानी भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फूयाँलले संसदीय सम्बन्धमा यो अहिले सम्मकै उच्चस्तरीय भ्रमण भएको तथा भेटवार्ताले संसदीय अभ्यास र सिकाईको आदान प्रदान र सहयोगमा ठूलो महत्व राख्ने बताउनुभयो ।

सचिव फूयाँलका अनुसार , भेटमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो । दुवैदेशका संसदमा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त गर्दै संसद मैत्रीसमूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको थियो।

उहाँले नेपालका प्राथमिकता र उद्देश्यमा क्यानडा लगायत अन्तराष्ट्रिय समुदायको साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । भेटका क्रममा क्यानडाको उपल्लो सदन ९सिनेट०का सभामुख जर्जजे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताउनुभएको थियो।

क्यानडा पनि संघीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले क्यानडाको तर्फबाट संयुक्त राष्ट्रसंघमा उम्मेदवारी रहेको र त्यसमा नेपालबाट सहयोगको अपेक्षा गर्नुभएको पनि सचिव फुयाँलले जानकारी दिनुभयो ।

सभामुख फ्युरी नेतृत्वको टोलीले अहिले राष्ट्रियसभा बैठकको अवलोकन गरिरहेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञावली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग पनि संसदीय टोलीले भेटघाट गर्ने कार्यतालिका छ।
 


प्रतिक्रिया दिनुहोस्