दिल्लीमा आम आदमीको पक्षमा एक्जिट पोल तर हेर्नुहोस् असफलताको इतिहास

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ५ : ०९


एजेन्सी । भारतको दिल्ली विधानसभाको चुनावी मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक भएको छ । मत सर्वेक्षणमा आम आदमी पार्टी (आप)को सरकार बन्ने स्पष्ट देखाइएको छ । तर, भारतीय सञ्चारमाध्यमहरुले ‘एक्जिट पोल’ सधैं सफल नभएको भन्दै त्यसको पनि इतिहास दिएका छन् ।

अनेकौं टेलिभिजन च्यानल र एजेन्सीहरुले आफ्नो एक्जिट पोलमा भनेका छन् कि मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी पुनः विजयी हुँदैछ । यद्यपि इतिहास हेर्ने हो भने यस्तो होइन कि एक्जिट पोल सधैं सफल रहेको होस् । सायद भारतीय जनता पार्टीले अझै पनि यही इतिहासकै कारण एकपटक फेरि एक्जिट पोल असफल हुने आशा गरिरहेको छ । भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष मनोज तिवारीले त यहाँसम्म भनेका छन कि चुनावी मत सर्वेक्षणहरु असफल हुनेछन् र भाजपाले ४८ सिट प्राप्त गरेर सरकार बनाउने छ ।

एक्जिट पोल असफल भएको इतिहासतर्फ दृष्टिगत गर्ने हो भने त्यसको सबभन्दा ठूलो उदाहरण सन् २००४ को लोकसभा चुनाव हो । त्यसपछि सन् २०१३ र सन् २०१५ का दिल्ली विधानसभा चुनाव हुन् । कैयौंपटक एक्जिट पोलको पनि पोल खुलिसकेका छन् । 

सन् १९८० मा भयो एक्जिट पोलको शुरुवात
एक्जिट पोलको शुरुवात सन् १९८० मा भारतीय मिडियाहरुबाट भएको थियो । यसपछिका दिनहरुमा भारतीय मिडियाहरुले चुनावपछि सर्वे गर्न थालेका हुन् । दूरदर्शनले सन् १९९६ मा एक्जिट पोलको शुरुवात गरेको हो । चुनावमा मतदान सकिनेबित्तिकै जब मतदाताहरु मतदान गरेर निक्लिरहेका हुन्छन्, त्यतिबेला सोधिन्छ कि उनीहरुले कसलाई मतदान गरे ? यो आधारमा गरिएको मत सर्वेक्षणबाट जुन व्यापक नतिजा निकालिन्छ, त्यसैलाई एक्जिट पोल भन्ने गरिएको छ ।

सन् १९९८ मा लागेको थियो प्रतिबन्ध
सन् १९९८ मा चुनाव आयोगले ‘ओपिनियन’ र ‘एक्जिट पोल’लाई प्रतिबन्ध लगाएको थियो । यद्यपि पछि सर्वोच्च अदालतले चुनाव आयोगको फैसलालाई रद्द गरिदिएको थियो । त्यसपछि सन् २००९ को लोकसभा निर्वाचनअघि एकपटक पुनः एक्जिट पोलमाथि प्रतिबन्ध लगाउनुपर्ने जोडदार माग उठ्यो । पछि कानुनमा संशोधन गरियो र संशोधित कानुनअनुसार चुनावी प्रक्रियामा जबसम्म अन्तिम मतदान सकिँदैन तबसम्म एक्जिट पोल देखाउन मिल्दैन । 

सन् २०१३ को दिल्ली विधानसभा चुनाव
सन् २०१३ को दिल्ली विधानसभा चुनावको एक्जिट पोलमा भारतीय जनता पार्टीलाई बहुमत मिल्ने बताइएको थियो । कांग्रेस (आई)लाई दोस्रो नम्बरमा रहने सम्भावना देखाइएको थियो । त्यहाँ धेरैजसो एक्जिट पोलहरुले आम आदमी पार्टी (आप)को सिट एकदमै कम देखाइएको थियो । इण्डिया टुडेको एक्जिट पोलले आपलाई जम्मा १० सिटमात्रै देखाएको थियो । न्युज २४ चाणक्यले सबैभन्दा बढी ३१ सिट प्राप्त गर्ने देखाएको थियो । जब परिणाम आयो तब एक्जिट पोल गलत सावित भए । आपलाई २८ सिट मिल्यो भने कांग्रेस ८ सिटमा सीमित भयो । त्यतिबेला भारतीय जनता पार्टीले सबभन्दा बढी ३२ सिट प्राप्त गरेको थियो ।

सन् २०१५ को विधानसभा चुनाव
सन् २०१५ को दिल्ली विधानसभा चुनावमा अनेकौं एक्जिट पोलमा आपलाई बहुमत प्राप्त हुने बताइयो । तर, एउटा पनि एक्जिट पोलमा यति धेरै सिटको उल्लेख नै गरिएको थिएन । एक्जिट पोलमा आपलाई ३५–४५ सिट मिल्ने अनुमान लगाइएको थियो । इण्डिया न्यूजको एक्जिट पोलले सबभन्दा धेरै ५३ सिट दिएको थियो ।

एक्जिट पोलमा भारतीय जनता पार्टीको सिट संख्या दोहोरो अंकमा रहने बताइएको थियो । इण्डिया टिभीको एक्जिट पोलले भारतीय जनता पार्टीलाई सबभन्दा धेरै ३३ सिट दियो । तर, जब नतिजा आयो, आम आदमी पार्टी (आप)लाई प्रचण्ड बहुमत प्राप्त भयो । आपले ६७ सिटमा विजयी हासिल गर्यो । त्यही बेला भारतीय जनता पार्टीलाई जम्मा ३ सिट मात्रै प्राप्त भयो । यसका साथै कांग्रेसलाई २–५ सिट मिल्ले एक्जिट पोलको अनुमान पनि गलत सावित भयो । त्यो बेला कांग्रेसले खाता समेत खोल्न असमर्थ भयो ।

सन् २०१९ को हरियाणा विधानसभा चुनाव
हरियाणा विधानसभा चुनावको नतिजामा भारतीय जनता पार्टीलाई सबै एक्जिट पोलका दावीहरुका विपरीत ठूलो झट्का लाग्यो । एक्जिट पोलमा हरियाणामा भारतीय जनता पार्टीलाई प्रचण्ड बहुमत हासिल हुने बताइएको थियो, जो गलत सावित भयो । सरकार बनाउने सिट संख्या नजिक पुगेको भाजपालाई केवल ४० सिट प्राप्त भयो । त्यस्तै, एक्जिट पोलको उल्टो कांग्रेसले ३१ सिटमा जीत हासिल गर्यो । एक्जिट पोलमा कांग्रेसले कडा हारको सामना गर्नुपर्ने बताइएको थियो । तर, चुनावी परिणाम एकदमै विपरीत आएको थियो ।

सन् २०१८ को छत्तीसगढ विधानसभा चुनाव
सन् २०१८ को छत्तीसगढ विधानसभा चुनावमा धेरैजसो एक्जिट पोलमा भारतीय जनता पार्टी र कांग्रेसबीच कडा प्रतिष्पर्धा हुने बताइएको थियो । त्यतिबेला एबीपी न्यूज र इण्डिया टिभीको सर्वेक्षणमा भारतीय जनता पार्टीको सरकार बन्ने बताइएको थियो । तर, परिणाम बिल्कुलै उल्टो आयो । कांग्रेसले प्रचण्ड बहुमत प्राप्त गर्दै ६९ सिटमा जीत हासिल गर्यो । जबकि भारतीय जनता पार्टीको हिस्सामा केवल १४ सिटमात्रै पर्यो ।

सन् २०१५ को बिहार विधानसभा चुनाव
सन् २०१५ को बिहार विधानसभा चुनावको सिलसिलामा पनि एक्जिट पोलहरुले सही अनुमान लगाउन पूर्णतः नाकाम सावित भए । सबै एक्जिट पोलमा भारतीय जनता पार्टीलाई जेडीयू–आरजेडी गठबन्धन भन्दा बढी देखाइएको थियो तर नतिजा उल्टो आयो । भारतीय जनता पार्टी ५८ सिटमा सीमित भयो । जबकि जेडीयू–आरजेडी गठबन्धनले १७८ सिटमा जीतको झण्डा फहराउन सफल भयो ।

सन् २००४ को लोकसभा चुनाव
सन् २००४ को लोकसभा चुनावमा सबै एक्जिट पोलहरुमा पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको नेतृत्वमा रहेको एनडीएलाई प्रचण्ड बहुमत मिल्ने अनुमान लगाइएको थियो । तर, यहाँ पनि अन्तिम परिणाम बिल्कुलै उल्टो आएको थियो । त्यसबेला एनडीएलाई १८९ सिट मिलेको थियो भने कांग्रेस नेतृत्वको युपीएलाई २२२ सिट मिलेको थियो । त्यतिबेला डा. मनमोहन सिंह प्रधानमन्त्री बनेका थिए ।

सन् २००९ को लोकसभा चुनाव
सन् २००९ को लोकसभा चुनावमा पनि सन् २००४ को जस्तै एक्जिट पोल फेल भएका थिए । धेरैजसो एक्जिट पोलमा युपीएलाई एनडीएभन्दा बढी सिट मिल्ने अनुमान गरिएको थियो । तर, कसैले पनि यो अनुमान लगाउन सकेका थिएनन् कि कांग्रेस एक्लैले २०० भन्दा बढी सिट हासिल गर्ला । अन्तिम परिणाम घोषणा हुँदासम्म कांग्रेस एक्लैलाई २०६ र युपीएलाई २६२ सिट प्राप्त भयो ।
 


प्रतिक्रिया दिनुहोस्