उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न प्रविधिमा जोड दिइने

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ३ : २३


ट्राफिक प्रहरीले उपत्यकाका ट्राफिक व्यवस्थापनका लागि प्रविधिमा जोड दिनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पत्रकार सम्मेलन गरी उपत्यकामा बढ्दै गएको ट्राफिक चापलाई व्यवस्थापन गर्न ट्राफिक लाइट, अनलाइन, एफएमको क्षमता अभिवृद्धिमा जोड दिन लागेको जानकारी दिएको हो। 

सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले प्रविधिमैत्री ट्राफिक व्यवस्थापन अहिलेको आवश्यकता भएको बताउनुभयो। “प्रविधिमार्फत ट्राफिक जनचेतना अभिवृद्धि कार्यलाई व्यापक बनाउँछौँ”, उहाँले भन्नुभयो। 

महाशाखाले सडक पूर्वाधार विकासका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै पैदलयात्रु दुर्घटना न्यूनीकरण गर्दै लैजाने बताएको छ। सवारीसाधन बिक्रेताले खरिदकर्तालाई सवारी नियम पालना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर मात्र बिक्री गर्ने व्यवस्था मिलाइने महाशाखाले जनाएको छ। 

महाशाखा प्रमुख ढकालले तेस्रो चरणको युवा स्वयम्सेवक परिचालन कार्यक्रम व्यापक बनाउँदै लैजाने बताउनुभयो । विद्यालयमा ट्राफिक चिल्ड्रेन पार्क बनाउनका लागि पहल गर्ने उहाँको भनाइ थियो । उहाँले रुट अनुमति वितरण प्रणालीमा सुधार र व्यवस्थापनको लागि समन्वय र अध्ययन गर्नुका साथै ज्येष्ठ नागरीकलाई सार्वजनिक यातायातमा विशेष व्यवस्थाको लागि समन्वय एवं पहल गरिने उल्लेख गर्नुभयो । महाशाखाले ट्राफिकमैत्री सडकका लागि ३७ बुँदे अल्पकालीन सडक सुधार कार्ययोजनालाई कार्यान्वयन गरी पूरा गरिनेसमेत बताएको छ।


प्रतिक्रिया दिनुहोस्