दिल्ली विधानसभामा फेरि मोदीको हार?

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ४४


काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टीले फेरि पनि दिल्लीमा हार व्यहोर्ने स्थिति देखिएको छ।

शनिबार भएको विधानसभा निर्वाचनको एक्जिट पोलअनुसार दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले फेरि बाजी मार्ने देखिएको छ ।

नौ वटा एक्जिट पोलका अनुसार केजरीवालको पार्टी आपले कूल ७० मध्ये ५२ सिट जित्ने अवस्था रहेको देखाएको छ । 

सन् २०१५ मा आम आदमी पार्टीले ६७ सिट जितेको थियो।

गत वर्ष भएको आम चुनावमा दिल्लीको सात वटै लोकसभा सिट जितेको सत्तारुढ भारतीय जनता पार्टीले दिल्लीमा भने २२ वर्षदेखि शासन गर्न पाएको छैन। एक्जिट पोलअनुसार उसले यसपटक पनि १५ सिट मात्र जित्ने देखिएको छ।

त्यस्तै, मुख्य प्रतिपक्षी कंग्रेस पार्टीले एकाध सिट मात्र हात पार्ने अनुमान गरिएको छ।

सन् २०१२ मा भ्रष्टाचार विरोधी अभियानबाट उदाएको आपले २०१३ मा सरकार बनाएर सबैलाई चकित तुल्याएको थियो। तर, आफूले लगेको विधेयक पारित नहुने देखेपछि सत्ता सम्हालेको ४९औँ दिनमा केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

यो चुनावलाई नागरिकता संशोधन कानुनपछि मोदीको लोकप्रियता मापन गर्ने निर्वाचन मानिएको थियो। दिल्लीमा अहिले पनि यो कानुनको विरुद्ध दैनिक हजारौँले प्रदर्शन गरिरहेका छन्।

हिन्दु–राष्ट्रवादी नारालाई उचालेर देशैभर जितेको भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको जादू दिल्लीले कुनै काम गरेको छैन । 

चुनावमा भाजपाले हिन्दु–मुस्लिम विभाजन र राष्ट्रवादको मुद्दालाई केन्द्रमा राखेको थियो। 

तर, आम आदमी पार्टीले स्कुल, सार्वजनिक यातायातमा सुधार, बिजुली, पानीजस्ता आम मानिसको दैनिकीसँग जोडिएको विषयलाई प्रमुखता दिएको थियो।

उसो त पछिल्ला दुई वर्षको बीचमा विधानसभा चुनावमा भाजपाले महाराष्ट्र, झारखण्ड र मध्यप्रदेशमा पनि हार बेहोर्नुपरेको थियो।

यो पनि हेर्नुहोस्-

केजरीवाल हराउन भाजपाका २ सय सांसद, ७० मन्त्री, ११ मुख्यमन्त्री दिल्लीमा


प्रतिक्रिया दिनुहोस्