‘मुख्य अभियुक्तलाई अख्तियारले जोगायो, अब हामी कारबाही गर्छौं’

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : २६


काठमाडौं । नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बालुवाटार जग्गा प्रकरणमा मुख्य अभियुक्तलाई आफ्नो पार्टीले कारवाही गर्ने जनाएको छ।

उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा 'प्रकाण्ड'ले विज्ञप्ति जारी गर्दै सरकारले ढाकछोप गर्न खोजेपनि आफ्नो पार्टीले कारवाही गर्ने चेतावनी दिएका छन्। 

प्रकाण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेका छन् । यसले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’


प्रतिक्रिया दिनुहोस्