तीनै तहका सरकारको कामलाई सुधार गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १२ : ४१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामलाई सुधार गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा आइतबार बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको भन्दै तीनै तहका सरकारको कामलाई सुधार गर्नुपर्ने बताउनुभएको हो । 

काममा अत्यन्तै ढिलासुस्ती भएको र वैदेशिक लगानीका आयोजनाको काम पनि तीव्रगतिमा हुन नसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले अपेक्षित विकास योजना पनि समयमा नसकिँदा जनताले पाउनु पर्ने लाभ पनि पाउन समस्या भएको जिकिर गर्नुभयो । 

प्रधानमन्त्रीले पछिल्लो समय केही उपलव्धि भएपनि सन्तोषजनक नभएको तर्क गर्नुभयो । बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजना बैंक नामक बेवसाइट र सर्भरको शुभारम्भ पनि गर्नुभयो । बैठकको अध्यक्षता गरेर आफ्ना कुरा राखिसकेपछि प्रम ओली असहज महसुस भएको भन्दै बाहिरिनुभएको थियो । 
 


प्रतिक्रिया दिनुहोस्