फोन नउठाएको रिसमा ‘विवाहित प्रेमिका’को हत्या

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ११ : ५३


काठमाडाैं । टेलिफोन नउठाएको रिसमा आफ्नो प्रेमीद्वारा प्रेमिकाको हत्या भएको छ । विवाहित प्रेमिका सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको हत्या गरेको आरोपमा २५ वर्षीय सुरेन्द्रप्रसाद साह प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ मा रहेको उखुबारीमा परियारको घाटी काटिएको र घाटीमा सलले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । सनाखतको लागि उक्त महिलाको फोटो जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज, प्रहरी संचार, टेलिभिजन, एफएमलगायतका सञ्चार माध्यमबाट हुलिया परिपत्र गरेपश्चात शव बसन्त परियारकी श्रीमती सम्झना खत्री परियारको रहेको खुलेको थियो ।

प्रहरी अनुसन्धानको क्रममा सप्तरी जिल्ला कृष्णश्रवण गाउँपालिका वडा नं ३ मट्टीगढा घर भई हाल बुढिगंगा गाउपालिका वडा नं. ३ पोठियामा डेरा गरी बस्ने क्वालिटी नुडल्स फ्याक्ट्रीमा स्टोर ईन्चार्जको रूपमा कार्यरत सुरेन्द्रप्रसाद साह र मृतक सम्झना खत्री परियारवीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको खुलेको थियो ।

त्यसैको आधारमा प्रहरी ले साहलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार माघ २१ गते मंगलबार बिहान १० बजेदेखि मृतक परियार साहको सम्पर्कमा नरहेकाले उनले पटक–पटक फोन गरेका थिए । परियारले फोन नउठाएपछि साह उनकै घरमा भेट्न पुगेका थिए ।

तर, घरमा कोही फेला नपरेपछि उनी पुनः फ्याक्ट्री फर्किका थिए । अपरान्ह चार बजे साह पुनः परियारलाई खोज्न वरपरको क्षेत्रमा डुलिरहँदा बाँसबारी चोक अगाडि भेटेपछि उनलाई मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ पुर्याएका थिए ।

त्यहाँ गफ गर्ने क्रममा दुई जनाबच वादविवाद भएपछि रिसको आवेगमा साहले परियारको सल घाँटीमा बेरेर तान्दै उखुबारीमा पुर्याएर धारिलो बाँसलाई हतियारको रुपमा प्रयोग गरी घाटी रेटेर हत्या गरेको प्रहरीको भनाइ छ । साहले आफूले नै परियारको हत्या गरेको प्रहरी समक्ष बयान पनि दिएका छन् । प्रहरीले मृतक सम्झना खत्री परियारलाई घटनास्थल सम्म बोकेर लगेको मोटरसाईकल र दुईवटा मोबाइल पनि बरामद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्