काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ।
झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको कारवाही प्रारम्भ हुनेबित्तिकै काँग्रेसका सांसदले उठेर विरोध जनाएपछि संसद्को कामकारवाही अगाडि बढ्न सकेन ।
ललिता निवास जग्गा प्रकरणमा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अवरुद्ध गरेको हो ।
यसअघि सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अवरुद्ध भएको थियो । सभामुख अग्निप्रसाद सापकाटाले सदनको कामकारवाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए ।
सभामुखले संवैधानिक व्यवस्थाबारे अवगत गराउँदै सो विषय अदालतमा गइसकेकाले संसद्बाट निरुपण नहुने स्पष्ट पार्नुभएको थियो । उहाँले सदनको ओझ, गरिमा र सर्वोच्चतालाई कायम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराउनुभएको थियो ।
काँग्रेस सांसदले उभिएर विरोध जनाइरहँदा काँगेस सांसद दिलेन्द्रप्रसाद बडूले ललिता निवास प्रकरणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि बढाइएको हो भन्दै आपत्ति जनाउनुभएको थियो ।
प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचेतक शान्ता चौधरीले भने नियमापत्ति गर्दै सदनको कारवाहीलाई अगाडि बढाउन माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।