चट्याङले दश लाख बढीको क्षति, खानेपानी वितरण कार्य पनि प्रभावित

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ३८


दाङ । चट्याङले दाङको घोराही उपमहानगरपालिका वडा नं १५ मा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा जडान गरिएका उपकरण जलेका छन् ।

शनिवार दिउँसो हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर भरतपुर खानेपानी उपभोक्ता समितिको कार्यालयका रहेको विद्युत मिटरबक्स, विद्युतीय तार, ब्याट्री, कम्युटर, टेलिफोन, जेनेरेटर र तीनवटा डिप बोरिङमा जडान गरिएका मोटरहरु जलेका छन् । चट्याङले लाग्दा १० लाख बढीका उपकरण जलेर नष्ट भएको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शंकर गौतमले जानकारी दिनुभयो ।

खानेपानीका तीनवटा मोटर जलेका कारण एक हप्तासम्म खानेपानी वितरण कार्य प्रभावित हुने र तीन दिनसम्म कार्यालयबाट प्रवाह गरिने महसुल जम्मा गर्ने लगायतका कम्युटरका माध्यमबाट हुने सेवा बन्द गरिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । नयाँ उपकरण खरिद गरी सेवा सुचारु गर्नका लागि आइतवारदेखि नै काम थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । एउटा डिप बोरिङ मात्रै हाल सञ्चालनमा रहेका कारण उपभोक्ताको धारमा एक हप्तासम्म केहि मात्रै खानेपानी आउने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्