काठमाडौँ । अमेरिकासँगको क्रिकेट विश्वकप लिग–२ का लागि शनिबार नेपाली टोलीले अघिल्लो खेल खेलेकाबाट दुई खेलाडी परिवर्तन गरेको थियो । त्यसबाट नेपाली टोलीमा स्थान पाउने एक थिए कुशल मल्ल । नेपाली राष्ट्रिय टोलीबाट ५० ओभरमा उनी पहिलो खेल खेल्दै थिए ।
कुशल मैदानमा उत्रिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई शनिबार नेपाली टोलीमा रोहितकुमार पौडेलको स्थानमा ल्याइएको थियो । उनै रोहितले सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेटमा बनाएको अर्धशतकीय कीर्तिमानलाई पनि कुशलले उछिनिदिए । गत वर्ष दुबईमा यूएईविरुद्ध ५५ रन बनाउँदा रोहित १६ वर्ष १४६ दिनका थिए । कुशलले १५ वर्ष ३४० दिनका दिन अमेरिकासँग ५० रन बनाएर कीर्तिमान रचेका हुन् ।
रोहितको स्थानमा आएर रोहितकै कीर्तिमान भंग गर्दा कस्तो लाग्यो ? उनी गलल हाँसी मात्र रहे । इनरुवामा अघिल्लो महिना भएको एमएम कपमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै उनले नेपाल एपीएफ क्लबविरुद्ध १११ रन बनाएका थिए । ‘मैले राम्रो गरेर भन्दा पनि अरूले बलिङ नराम्रो गरेकाले शतक बनाउन सकेको थिएँ,’ उनको त्यति बेला भनेका थिए । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।