काठमाडौं । नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा डेब्युमै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिका विरुद्धको खेलमा आज उहाँले उक्त कीर्तिमान बनाउनुभएको हो
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएका बायाँ हाते अलराउण्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाउनुभएको थियो।
यस क्रममा उहाँले तीन छक्का र चार चौकासमेत प्रहार गर्नुभयो। कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाउनुभएको हो ।
यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो ।
रोहितले युनाइटेड अरब इमिरेटस् (युएई) विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाउनुभएको थियो । त्यो बेला उहाँ १६ वर्ष १४६ दिनको हुनुहुन्थ्यो ।
नेपाल संकटको घडीमा रहेको बेला कुशल ब्याटिङ गर्न आउनुभएको हो ।
त्यो बेला नेपालले पाँच विकेट गुमाएर मात्र ४९ रन बनाएको थियो ।
उहाँले विनोद भण्डारीसँग मिलेर नेपालको इनिङ सम्हाल्नुभएको थियो ।
कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोड्नुभएको छ ।
यसअघि सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गर्नुभएको थियो ।