नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताउनुभयो ।
सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उहाँको आरोप थियो ।
उहाँले भन्नुभयो “ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।”
सो अवसरमा बोल्दै उहाँले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको आरोप थापाले लगाउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताउनुभयो।
जनताले अहिले सङ्गठित काँग्रेस खोजेको भन्दै उहाँले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताउनुभयो।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ्, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठलगायतले बोल्नु भएको थियो।