एमसीसीका सहायक उपाध्यक्ष जोनाथन नेपालमा

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ३ : ५९


काठमाडौं । नेपालमा एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने कि नगर्ने बहस चलिरहेका बेला एमसीसीको युरोप, एसिया, प्यासिफिक र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुग्नुभएको छ।

दक्षिण एशिया मामिला, सार्वजनिक कूटनीति हेर्ने जिम्मेवारी पाएका एक उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमण गरेलगत्तै एमसीसीका उपाध्यक्ष शुक्रबार नेपाल आइपुग्नुभएको हो।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार दक्षिण एसिया मामिला, सार्वजनिक कूटनीति तथा प्रेस हेर्ने अमेरिकी उपसहायक मन्त्री जोनाथन हेनिक दुई दिने नेपाल भ्रमण सकेर फर्केको दुई दिनपछि नै एमसीसीका उपाध्यक्ष नेपाल आउनुभएको छ। 

एमसीसी उपाध्यक्षले भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित उच्चपदस्थ अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

‘नेपालसँगको साझेदारीको हिस्सास्वरूप नियमित तथा जारी परामर्शका लागि उपाध्यक्ष जोनाथन आउनुभएको अमेरिकी दूतावासले बताएको छ।
दूतावासका अनुसार भ्रमणका क्रममा उहाँले एमसीसी र मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) का कर्मचारी, अर्थ मन्त्रालयबाट नवनियुक्त एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष र नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री लगायत सरकारी अधिकारीहरूसँग भेटघाट गर्नुहुनेछ।

सन २००४ मा स्थापित अमेरिकी सरकारको स्वतन्त्र निकाय एमसीसीले कठिन मापदण्ड पूरा गर्ने देशहरूलाई आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नका निम्ति समय–सीमित अनुदान प्रदान गर्ने अमेरिकी दूतावासले बताएको छ। 

नेपाल र अमेरिकाबीच २०७४ भदौमा नेपालका लागि ५० करोड अमेरिकी डलरको अनुदान सहमतिमा हस्ताक्षर भएको थियो।

अमेरिकी सहयोग अनुदान एमसीसी लिने वा नलिने विषयमा सत्तारुढ दल नेकपाभित्रै तीव्र मतभेद भएपछि संसदबाट पारित गर्नुपर्ने सम्झौता रोकिएको छ। सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न ३ सदस्यीय कार्यदल गठन गरेको समयमै एमसीसीका सहायक उपाध्यक्ष नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्