कानून समितिले देशभरका कारागारको अवस्था अध्ययन गर्ने

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १२ : ५०


काठमाडौं । प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले सात वटै प्रदेशमा रहेका कारागारहरुको अवस्था अध्ययन गर्ने भएको छ।

शुक्रबार बसेको समितिको बैठकले सात वटै प्रदेशका कारागार निरीक्षण गर्ने निर्णय गरेको हो । कारागारहरुको अवस्था सन्तोषजनक नभएको भन्ने खवर सार्वजनिक भएको अवस्थामा कारागारभित्र बस्ने बन्दीहरुको अवस्थाका विषयमा समितिले निरीक्षण गर्ने निर्णय गरेको समिति सभापति कृष्णभक्त पोखरेलले बताउनुभयो।

कारगारभित्र बस्ने बन्दीहरुलाई आवास नपुगेको, उनीहरुको स्वास्थ्य अवस्था राम्रो नभएको र उनीहरुले कानूनी सहायता समेत भनेको समयमा नपाएको गुनासो बढेकोले कारागारहरुको निरीक्षण गरिने उहाँको भनाई छ । 

संविधानले सम्बोधन गर्न नसकेका विषयमा जनताका गुनासा सुन्न र कार्यान्वयनको अवस्थाका विषयमा बुझ्नका लागि संवैधानिक सम्मेलन गर्ने निर्णय पनि समितिले गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र नागरिक समाजका अगुवाहरु एकै ठाउँमा बसेर सम्बाद गर्नेगरी प्रदेश नम्बर तीनको चितवनमा संवैधानिक सम्मेलन गरिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्