भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  १० : ४६


काठमाडौं । नेपाली महिला फुटबल टोलीकी सदस्य सावित्रा भण्डारीले भारतमा उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ। 

चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्ने सिलसिलामा भारतमा रहनुभएकी सावित्राले हालसम्म चार खेलमा १२ गोल गरिसक्नुभएको छ। जारी लिगमा उहाँ हालसम्म सर्वाधिक गोलकर्ता बन्नुभएको छ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध उहाँ उक्त लिग खेल्न माघ ७ गते भारत जानुभएको हो । दोस्रो पटक सो लिग खेलिरहनुभएकी सावित्रा यसपटक गोकुलम क्लबमा आबद्ध हुनुहुन्छ। गत वर्ष उहाँले सेथु एफसीबाट खेल्नुभएको थियो।

सेथु गत संस्करणको च्याम्पियन पनि हो। सावित्राले गत वर्ष उक्त लिगमा १५ गोल गर्नुभएको थियो। उक्त लिगमा भारतका १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। 

सावित्रालाई ओजिलको जर्सी 

भारतीय महिला लिगमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आउनुभएकी सावित्रालाई आर्सनलका स्टार मेसुट ओजिलको हस्ताक्षरित जर्सी उपहारस्वरुप प्रदान गरिएको छ। ओजिलका एजेन्ट इकुट सोगुटले सो उहाँलाई जर्सी हस्तान्तरण गर्नुभएको हो । 

जारी लिगमा सावित्रासम्मिलित गोकुलमले हालसम्म खेलेको चारवटै खेलमा जित हासिल गरेको छ। लिग शुरु हुनअघि भएको छनोट खेलमा समेत उहाँले तीन गोल गर्नुभएको थियो।

सावित्रासँगै उक्त लिगमा नेपाली महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतले सेथु एफसीबाट खेलिरहनुभएको छ।

सावित्रा र अनिताको टोली लिगको सेमिफाइनल प्रवेश गरिसकेको छ। 


प्रतिक्रिया दिनुहोस्