विराटगनर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले निर्दोष र निरअपराधी फस्न नहुने कुरामा जोड दिनुभयो।
पूर्वप्रधानमन्त्री नेपालले एमसिसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिनुभयो।
इण्डोप्याफिक रणनीतिकै एउटा अङ्ग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उहाँले एमसिसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राख्नुभयो।
वरिष्ठ नेता नेपालले हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जिडिपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्छ भन्नुभयो।
उहाँले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढङ्गले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो।
वरिष्ठ नेता नेपालले सरकारले मुलुकलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै नेपालको वातावरण प्रदूषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढङ्गले खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।