काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दोस्रो अधिवेशनको ३४औँ बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० बजे बस्न लागेको हो ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।
त्यसैगरी आजदेखि बैठकमा मन्त्रीहरूले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ । जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।