अमेरिकी दूतावास हातामा पाँच वर्षीया बालिका बलात्कृत

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ६ : ३८


काठमाडाैं । भारतको राजधानी दिल्लीस्थित अमेरिकी दूतावासको हाताभित्र पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक २५ वर्षीय युवक पक्राउ परेका छन्। बालिकाका अभिभावकले प्रहरीमा उजुरी दर्ता गरेपछि ती युवकलाई आइतवार पक्राउ गरिएको प्रहरीले समाचारसंस्था पीटीआईलाई बताएको छ।

घटना शनिवार बिहान भएको बताइएको छ। परीक्षणमा ती बालिका बलात्कृत भएको पुष्टि भएको चिकित्सकहरूले बताएका छन्। पीडित बालिकाको स्वास्थ्य अवस्था स्थिर छ। उनका बुवा दूतावासमा काम गर्थे र परिवार दूतावास हाताभित्रै बस्थ्यो।आरोपित युवक चालक भएको तर दूतावासको कर्मचारी नभए पनि बुवासँगै दूतावास हातास्थित कर्मचारी आवासमा बस्ने गरेको प्रहरीले बताएको छ। बालिकालाई बाहिर खेलिरहेको देखेपछि ती युवकले लोभ्याएर आफ्नो घरमा लगेका थिए।

त्यति बेला आरोपितका अभिभावकहरू बाहिर थिए।बालिकाले घर फर्किएपछि उक्त घटनाबारे आफ्नी आमालाई बताएकी थिइन्। त्यसलगत्तै उनलाई अस्पताल लगियो। परीक्षण गर्दा उनी बलात्कृत भएको पुष्टि चिकित्सकहरूले गरेको प्रहरीले बताएको छ। दिल्लीको केन्द्रमा रहेको चाणक्यपुरीस्थित कूटनीतिक क्षेत्रमा अमेरिकी दूतावास छ। कडा सुरक्षा रहेको दूतावास २८ एकडमा फैलिएको छ। त्यहाँ स्थानीय कर्मचारीहरू पनि काम गर्छन्।

बीबीसी


प्रतिक्रिया दिनुहोस्