काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जसकारण हाल मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित कोशी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ ।
साथै देशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारी वर्षा, मेघगर्जनसहित चट्याङ, बाढी–पहिरो, भू–क्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।