बालुवाटार जग्गा प्रकरणमा सरकारले कसैलाई विभेद गरेको छैन : मन्त्री बाँस्कोटा

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  १० : ५७


काठमाडौँ । सरकारले ललिता निवासको जग्गा प्रकरण छानविन देखि मुद्दा दायर सम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले ललिता निवास जग्गा प्रकरणको छानविनमा “लाल फित्ता धारी र स्वेतफित्ता धारीको व्यवहार ”नगरेको दाबी गर्नुभएको हो । विजय कुमार गच्छदार माथिको कारवाही पूर्वाग्रही भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले सरकारले कसैलाई पनि विभेद नगरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो “यहाँ लाला फित्ता धारी र स्वेता फित्ता धारीको व्यवहार भएको छैन। यो कानुन प्रयोजनको कुरा हो।”

उहाँले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गीकरण गरि सोही अनुसारको मुद्दा दायर गरिएको फेहरिस्त नै सुनाउनुभयो।

उहाँले भन्नुभयो “बालुवाटारको घटना आज भएको होइन र सूचना प्राप्त भएपछि कारवाही थालेको हो। यसमा १ सय ७५ जनालाई कुलमा मुद्दा चलाइएको छ। पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियो उनीहरु मुद्दा चलाएको छ । जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरुलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाइएको छ । त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई किर्ते गरि व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्दा दाबी गरिएको छ ।”

उहाँले अदालती प्रक्रिया सुरु भइसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो “प्रक्रिया सुरु भयो अब अदालतमा गएको छ । अब अदालतले जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुन्छ । त्यो नै सरकारले कार्यान्वयन गर्ने हो । दोषी ठहरिनु भयो भने त के लाग्छ त बाबा ? हामी केही पनि गर्न त सक्दैनौ।”

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले कोरोना भाइरसको सङ्क्रमण फैलिएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाण्डौका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक, खरिपाटीमा क्वारेन्टाईन स्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले सुरु गरेको पनि जानकारी गराउनुभयो। क्वारेन्टाइन स्थल बनाउने बारेमा प्रधानमन्त्रीले निर्देशन दिइसकेकाले चीनबाट ल्याएका नेपालीलाई राख्ने स्थानको प्रबन्ध मिलाइँदै गरिएको उल्लेख गर्दै तयारी पुरा भएपछि ल्याउने काम हुने भएकाले चीनमा रहेका नेपालीलाई धैर्यधारण गर्न र संयमता अपनाउन पनि आग्रह गर्नुभयो।  

 


प्रतिक्रिया दिनुहोस्