काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण कोशी र बागमती प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ । अत्याधिक गर्मीबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।