प्रधानन्यायाधीश नबन्दै हरिकृष्णलाई न्याय परिषद्ले सम्झायो अनिवार्य अवकाशको मिति

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : ०२


काठमाडौं । न्याय परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अनिवार्य अवकाशको मिति सम्झाएको छ ।

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहेका कार्कीलाई आइतबार एक पत्रमार्फत अनिवार्य अवकाशको मिति सम्झाएको हो ।

परिषद्बाट कार्कीलाई लेखिएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि उनी अनिवार्य अवकाशमा जान लागेको उल्लेख छ ।

‘यस सचिवालयमा रहेको अभिलेख तथा निजामती किताबखाना समेतबाट प्राप्त यहाँको वैयक्तिक विवरण अभिलेखका आधारमा सम्माननीय महोदय मिति २०८०।०४।१९ मा ६५ वर्ष पूरा भई उमेरका कारणले मिति २०८०।०४।२० देखि अनिवार्य अवकाश हुनुहुने व्यहोरा न्याय परिषद ऐन, २०७३ को दफा ३१ बमोजिम निर्णयानुसार जानकारी गराउँदछु,’ सचिवालयका सहसचिव मानबहादुर कार्कीले पठाएको पत्रमा भनिएको छ ।

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्