चीनबाट उद्धार गरिने नेपालीलाई चार स्थानमा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  ८ : ०९


काठमाडौँ । चीनबाट उद्धार गरिने नेपाली विद्यार्थीलाई राख्न चार वटा स्थान तय भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरीने विद्यार्थी राख्नका लागि शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार क्वारेन्टाइन स्थल व्यवस्थित गर्न निर्देशन दिनुभएको हो। 

उहाँले कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारी पूरा गर्न पनि आग्रह गर्नुभएको छ। 

आज प्रधानमन्त्री निवास, बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव, सुरक्षा अधिकारीसँगको विशेष बैठकमा ती स्थान तय गरिएको प्रधानमन्त्री स्रोतले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गर्नुभयो भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराउनुभएको थियो। 

नेपालले १ लाख संख्यामा प्रोटेक्टिभ माक्स चीन सरकारलाई सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ। 


प्रतिक्रिया दिनुहोस्