काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका मध्य तथा पश्चिमि तराईमा भने शनिबार पनि तापक्रम नघट्ने देखिएको छ । महाशाखाका अनुसार मध्य तथा पश्चिम तराईमा तातो हावा, लू चलिरहने देखिन्छ। अत्याधिक गर्मीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।