‘अबको ५ वर्षमा निजगढ विमानस्थल’

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  २ : ०८


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ५ वर्षभित्र निजगढ विमानस्थल बनाइसक्ने दाबी गर्नुभएको छ। देशकै ‘गेम चेन्जर’ परियोजना भएकाले सरकारले यसको निर्माणका लागि ‘अर्जुन दृष्टि’ लगाएर काम गरिरहेको उहाँको भनाइ छ। 

नेपालका विमानस्थलहरूको वर्तमान अवस्थाबारे जानकारी दिन बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले प्राविधिक काम सल्टाउँदै स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिएको जानकारी दिनुभयो।

‘जग्गा अधिग्रहण, टाँगिया बस्ती स्थानान्तरण तथा रूख कटानका विषयमा करीब सहमति भइसकको छ,’ उहाँले भन्नुभयो, ‘लगानी र निर्माणको बारेमा लगानी बोर्डले स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्टसँग व्यावसायिक प्रस्ताव मागिसकिएको छ। अबको ५ वर्षमा निजगढ विमानस्थल निर्माण सम्पन्न गरिनेछ।’

काठमाडौँको अधिक ट्राफिक चाप घटाउन र मुलुकको समग्र विकासका लागि यो आयोजनाको विकल्प नरहेको मन्त्री भट्टराईको धारणा छ। अबको ५ वर्षभित्र नेपालमा हवाई पूर्वाधारको अवस्थामा धेरै सुधार आउने भन्दै उहाँले अहिले वार्षिक २० लाख पर्यटक आउने लक्ष्य राखिएकोमा अबको ५ वर्षपछि वार्षिक १ करोड पर्यटक नेपालमा भित्रिने दाबी गर्नुभयो। आजको आर्थिक अभियान दैनिकमा खबर छ।


प्रतिक्रिया दिनुहोस्