काठमाडौँ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ।
यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ।
नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भन्नुभयो, “आगामी पाँच वर्षमा उड्डयन क्षेत्रमा अतुलनीय फड्को मार्छौं, विमानस्थलमा ठूलो लगानी भएको छ। लागत उठाउने ढङ्गले सेवा पनि दिने र व्यवसाय पनि गर्नुपर्छ।”
निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल पाँच वर्षमा सञ्चालनमा आउने चर्चा गर्दै उहाँले भन्नुभयो, “निजगढ विमानस्थल ‘गेम चेन्जर प्रोजेक्ट’ हो । ट्राफिक समस्या सम्पन्न नगरी मुक्ति पाइँदैन।” ट्राफिक जाम भएर आकाशमै विमान होल्ड गर्नुपर्ने समस्या समाधानका लागि निजगढ विमानस्थलको विकल्प नभएको उहाँको भनाइ छ। आजको गोरखापत्र दैनिकमा खबर छ।