कोरोना भाइरस : चीनलाई सहानुभूति व्यक्त गर्न कम्बोडियाका प्रधानमन्त्री बेइजिङमा

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : ३५


एजेन्सी । चिनियाँ प्रधानमन्त्री लि क्वाङसँग कम्बोडियाका प्रधानमन्त्री हुन सेनले भेटवार्ता गर्नुभएको छ । 

चीनको भ्रमणमा रहनु भएका हुन सेनले क्वाङलाई बेइजिङस्थीत ग्रेट हल अफ द पिपल्समा बुधबार भेटवार्ता गर्नुभएको हो ।

चीनमा फैलिएको कोरोना भाइरसबाट सयौँ चिनियाँको मृत्यु भएको, हजारौँ सङ्क्रमित भएको र अरू धेरै त्रसित भइरहेको बेलामा आत्मीयता देखाउनका लागि हुन सेन चीन आउनु भएको जनाइएको छ । 

चिनियाँ नागरिकको दुःखमा साथ दिन र सहानुभूति व्यक्त गर्नका लागि उहाँले चीनको भ्रमण गर्नु भएको अधिकारीहरूले बताएका छन् । उहाँले भेटका क्रममा चिनियाँ उच्च अधिकारीहरूलाई कम्बोडियाली जनताको तर्फबाट सहानुभूति व्यक्त गर्नुभएको थियो । 

भेटवार्ताका क्रममा उहाँहरूका बीचमा आपसी सहयोग, दुईपक्षीय हित, साझा चासोलगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।  

कम्बोडियाली प्रधानमन्त्री हुन सेनले दुःखको यस घडीमा चीन सरकार र जनताले सङ्क्रमण नियन्त्रणका लागि धेरै राम्रो काम गरिरहेको बताउनु भएको थियो । 

चिनियाँ प्रधानमन्त्री लिले चिनियाँ नागरिकको स्वास्थ्य नै सरकारको प्रमुख प्राथमिकतामा रहेकाले त्यहीअनुसार काम भइरहेको जानकारी दिनुभएको थियो । 

यसअघि थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले पनि बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीलाई फोन गरी सङ्क्रमणबाट चाडै मुक्ति पाउने विश्वास व्यक्त गर्नुभएको थियो। 

थाई विदेशमन्त्री डोनले सङ्कटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिनुभएको थियो । 

उहाँले चीनलाई अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाई सरकार तत्पर रहेको पनि बताउनुभएको थियो ।  

चीनबाट शुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०ले मङ्गलबार बताएको छ ।

कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् । तीमध्ये दुई हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० जना उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।  

चीनको मध्यक्षेत्रमा पर्ने हुबेइको उहानबाट पहिलो पटक डिसेम्बरमा देखापरेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीका रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्