काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ३ : १३


पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।  

काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा आज राजधानीमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिनुभयो। 

दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उहाँले बितेका छ महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएकामा जोड दिनुभयो।  पचास वर्षपछि राष्ट्रसङ्घको उक्त विवाद समाधान गर्ने प्रयासस्वरुप गत महिना छलफल भएको जानकारी दिँदै आफूहरु परिणामको प्रतीक्षामा रहेको उहाँले बताउनुभयो। 

फरक प्रसङ्गमा उहाँले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताउँदै समय–समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुुगेको छ भन्नुभयो। 
    
कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवरा, महासचिव मञ्जुरत्न शाक्य, पत्रकारहरू नरेन्द्र उपाध्याय, राजनसिंह कार्की, देवेन्द्र चुडाललगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताउनुभयो । त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऐक्यबद्धता दिवसका  अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए।  


प्रतिक्रिया दिनुहोस्