दरबार हत्याकाण्डको २२ वर्ष : अझै रहस्यको गर्भभित्रै

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  २ : ०७


काठमाडौं । राजा वीरेन्द्र शाहको वंशनास भएको आज २२ वर्ष पूरा भएको छ । राजपरिवारको जमघट हुने त्रिभुवन सदनभित्रको बिलियार्ड बैठकको चर्चित दरबार हत्याकाण्डको रहस्य हालसम्म गर्भमै छ । २०५८ साल जेठ १९ गते शुक्रबार राति भएको दरबार हत्याकाण्ड कसले, किन र कसरी ग¥यो भन्ने विषयको उत्तर हालसम्म पाइएको छैन ।

पारिवारिक जमघट भइरहेका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजन, वीरेन्द्रका भाइ अधिराजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यको गोली प्रहार गरी हत्या भएको थियो ।

सो घटना तत्कालीन युवराज दीपेन्द्रले घटाएको भनिएको छ । सपरिवारको हत्या गरी आफैंले गोली हानेर आत्महत्या गरेको सरकारी भनाइ थियो । तत्कालीन प्रधानन्यायाधीसको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सभामुख तारानाथ रानाभाटले दरबार हत्याकाण्ड अधिराजकुमार दीपेन्द्रले गरेको बताएको थियो ।

तर, एक जनाले आफ्नो परिवारलाई मात्रै हत्या गरेका हुन, वा होइनन् भन्ने विषय अहिलेसम्म खोजीमै छ । हरेक सरकारले सत्ताको वागडोर सम्हाल्दा दरबार हत्याकाण्डको छानबिन गर्ने उद्घोष गर्ने गरेका छन् । दुईदशक बितिसक्दा पनि सो विषयमा छानबिन भएको छैन । हत्याकाण्डको छानबिन हुन नसकेपनि सो घटना भएको त्रिभुवन सदन सर्वसाधारणले अवलोकन गर्न पाएका छन् ।

२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी घरको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो । लगत्तै त्रिभुवन दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन शुरूकै शैलीमा निर्माण गर्ने विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्