नियमित यौन सम्बन्धले रोक्छ हृदयघात !

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५३


दम्पतीबीच हुने नियमित यौन सम्बन्धको अनेक फाइदा छन्, त्यो शारिरीक तथा भावनात्मक रुपले होस् वा अन्य। नियमित र सक्रिय यौन सम्बन्धले दम्पतीको स्वास्थ्यमा लाभ पुर्‍याउँछ। यौन सम्बन्ध बनाइरहँदा उनीहरु चिन्तामुक्त हुन्छन्। आनन्द र खुसी अनुभूत गर्छन्। एक–अर्काप्रतिको विश्वास र माया थप प्रगाढ हुँदै जान्छ।

शारीरिक क्रिया हुने भएकाले दुवैको शरिरमा रक्तप्रवाह राम्ररी हुन्छ। साथसाथै यसले उनीहरुलाई भावनात्मक रुपले पनि एकाकार गराउँछ। दम्पतीबीच हुने सक्रिय यौन सम्बन्धले उनीहरुलाई निकट बनाउँछ। एकअर्काप्रति प्रेम र भरोसा बढ्छ।

वैज्ञानिक अध्ययन अनुसार यौन जीवन र हृदयघातबाट हुने मृत्युबीच गहिरो सम्बन्ध छ। यदि यौन जीवन सक्रिय छ भने उनीहरुलाई हृदयघातको खतरा रहँदैन। युनिभर्सिटी कलेज लन्डनको शोधकर्ताले यो कुराको खुलासा गरेका हुन्।

अध्ययनको निचोडले भन्छ, हृदयघातपछि बाँच्ने व्यक्तिको संख्यामा तिनीहरु बढी थिए, जसको यौन जीवन सक्रिय छ। पहिलो हृदयघात भइसकेपछिको एक दशकबीच मृत्युको खतरा उनीहरुको तुलनामा कम हुन्छ, जो सिंगल एवं अविवाहित छन्।

यस अनुसन्धानमा अनुसन्धानकर्ताले १ हजार १ सय २० जना महिला र पुरुषलाई सामेल गराएको थियो, जसलाई ६५ बर्ष वा त्यसभन्दा कम उमेरमा पहिलो हृदयघात भएको थियो।

करीब २२ बर्षसम्म अध्ययनमा सामेल मानिसहरुमाथि निगरानी गरिएको थियो। र, अध्ययनका क्रममा १ हजार १ सय २० मध्ये ५ सय २४ जनाको मृत्यु भयो। यसरी हृदयघातबाट मृत्यु भएकाहरुले एक बर्षसम्म पटक्कै यौन सम्पर्क गरेका थिएनन्।

सप्ताहमा एक पटक यौन सम्पर्क गर्ने व्यक्तिको तुलनामा यौन सम्पर्क नगर्ने व्यक्तिहरुमा मृत्युको आशंका २७ प्रतिशतभन्दा बढी थियो। यसका साथै जसले हप्तामा एक पटक यौन सम्पर्क राखेका थिए उनीहरुमा हृदयघातपछि मृत्युको संभावना १२ प्रतिशत कम थियो। बेलाबखत यौन सम्पर्क गर्नेको मृत्युको संभावना ८ प्रतिशत कम थियो।

के यौनमा सक्रिय लामो आयू बाँच्छन्?

हृदयघातपछि सक्रिय व्यक्तिहरुको यौन जीवन पनि सक्रिय रहेको पाइयो। तुलनात्मक रुपमा उनीहरुको आयु लामो थियो। युनिभर्सिटी कलेज लन्डनमा डिपार्टमेन्ट अफ बिहेविअरल साइन्स एन्ड हेल्थका प्रमुख एन्ड्र्यु स्टेपटोले भनेका छन्, ‘यसमा अचम्म मान्नुपर्ने केही छैन। यौनमा सक्रिय व्यक्ति रिलेसनसिपमा थिए, जवान थिए र खासगरी स्वस्थ्य थिए।’

यौनमा निस्क्रिय हुनेमा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहको खतरा

यौनमा निस्क्रिय वा उदासिन व्यक्तिहरुमा हृदयघातको पहिलो एक बर्षमै उच्च रक्तचाप, हाइ कोलेस्ट्रोल, मधुमेह जस्ता समस्या देखिएको थियो। नियमित यौन सम्बन्ध बनाउनेहरुमा भने यस्तो समस्या देखिएन।


प्रतिक्रिया दिनुहोस्