राष्ट्रपति पौडेलद्वारा रेशम चौधरीको कैद सजाय माफी

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : २६


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् ।

मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले सो निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘

मन्त्रिपरिषद्को आइतबार विहान बसेको बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय माफी भएको छ ।

प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।


प्रतिक्रिया दिनुहोस्