राष्ट्रिय हितलाई केन्द्रमा राखेर एमसीसीबारे निर्णय हुन्छ– प्रचण्ड

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : २६


पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले एमसीसीको अध्ययनका लागि पार्टीले बनाएको कार्यदलले प्रतिवेदन ल्याएपछि पार्टीले निर्णय गर्ने बताउनुभएको छ । 

बुधबार पोखरामा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले कार्यदलले ल्याएको कुरा पार्टीले अध्ययन गर्ने र त्यसपछिमात्रै निर्णय गरिने बताउनुभएको हो । 

एमसीसी सम्झौता के गर्ने भन्ने विषयमा केन्द्रीय कमिटी बैठकले कार्यदल गठन गरेको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कार्यदलले जे ल्यायो त्यही पारित गर्ने भन्ने होइन्, कार्यदलले राम्रोसँग अध्ययन गरेर ल्याएको कुरालाई पार्टीले अध्ययन गर्छ र निर्णय गर्छ।’

एमसीसी सदनबाट पारित गर्ने सर्तमा सभामुख बनाइएको हो भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले त्यो सरासर झुट भएको बताउनुभयो। ‘त्यस्तो साट्ने भन्ने कुरा पूरै गलत हो, त्यस्तो भ्रममा कोही पर्नुहुँदैन, प्रचण्डले भन्नुभयो, ‘एमसीसीलाई हामीले सत्य, तथ्य पत्ता लगाएर, गहिरो अनुसन्धान गरेर राष्ट्रिय हितअनुकूल हुने गरी निर्णय गर्छौं।’

एमसीसी सम्झौता अब कार्यदलले गहिरो अध्ययन गरेपछि पार्टीले निर्णय गर्ने उहाँको भनाई थियो।

नेकपाले एमसीसीबारे अध्ययन गर्न पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहेको तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ।


प्रतिक्रिया दिनुहोस्