काठमाडौं । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण कोशी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहने महाशाखाको भनाई छ ।