काठमाडौँ । आफ्नो जीवन खतरामा भन्दै गायक अनिल सिंहले सामाजिक सञ्जालमा एकपछि अर्को स्टाट्स पोस्ट गरेका छन्।
उनले लेखेको अन्तिम स्टाट्समा आफूले २४ घण्टाभित्र प्रमाणसहित आत्मसमर्पण गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत म्युजिक नेपाल डटकमले आफ्ना गीत गैरकानुनी रुपले बिक्रीवितरण गरेको आरोप लगाएका हुन्।
इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डटकम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर मेरा गीत बेचेका उनको आरोप छ। उनले आफ्नो यूट्युबमा केही अडियो पनि सार्वजनिक गरेका छन्। जसमा म्युजिक नेपाल, इमेज च्यानल र आफ्नो बयान समेटिएको छ।
उनले सामाजिक सञ्जालमा आफ्नो जीवन खतरामा भन्दै केही पोस्ट गरे । जसले धेरैको ध्यान उनीतिरै तानियो। त्यसपछि उनले अर्को स्टाट्स लेख्दै आफ्नो अडियो सहितको बयानपनि सार्वजनिक गरे।
उनले बयानमा भनेका छन्, 'मेरो जीवन खतरामा छ, भनेर लेख्नुको कारणचाहिँ आफूले आफूलाई असुरक्षित ठानेर हो। अहिले मेरो र म्युजिक डटकमसँग युद्ध नै भएको छ। मेरो दुईवटा गीतचाहिँ म्युजिक डटकमले १७ वर्षदेखि प्रयोग गर्दै आएको रहेछ। मेरो अनुमतिबिना उहाँहरुले अवैधानिक ढंगले बिक्रीवितरण पनि गर्दै आउनुभएको रहेछ।'
'म्युजिक डटकमसँग गुनासो गर्ने क्रममा ठूलो–ठूलो नाम निस्कँदा एक्कासि आत्तिएको छु म। कतैबाट धम्कीको अनुभव गरेपछि आफूलाई असुरक्षित अनुभव गरें। त्यसैले मैले फेसबुकमा त्यस्तो लेखेको हुँ', उनले बयानमा भनेका छन्।