कोरोना भाइरस : सावधानी अपनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ३ : ४२


विभिन्न मुलुकमा देखिएको नोभेल कोरोना भाइरसको सङ्क्रमणका कारण अहिले नेपाललगायत विभिन्न देशले उच्च सतर्कता अपनाएको छ। 

नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ । चिकित्सकले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने बताएका छन् । स्वास्थ्य सेवा विभागका डा हेमन्त ओझा विशेष गरी सरसफाइमा ध्यान दिने, माक्स लगाउने, भिडभाडमा नजाने, बिरामीलाई छोएमा हात राम्ररी सफा गर्नेलगायत सावधानी अपनाए यसबाट जोगिन सक्ने बताउनुभयो । 

अध्यागमन विभागका कर्मचारीलाई कोरोना भाइरसको विषयमा आज जानकारी दिँदै डा ओझाले नेपालको सीमा चीनसँग जोडिएकाले केही सङ्क्रमण बढ्ने हो की भन्ने आशंका भए पनि अहिलेसम्मको अवस्थामा नेपाल सुरक्षित रहेको बताउनुभयो । पर्यटकसँग हेलमेल हुने भएकाले अध्यागमनका कर्मचारीले भने विशेष सावधानी अपनाएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्तरक्रियाका क्रममा विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डा रुबेलले रोगको औषधि पत्ता नलागेकाले लक्षण अनुसारको उपचार गरिने जानकारी दिँदै व्यक्ति स्वयंले सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । चीनको वोहान प्रान्तमा देखिएको उक्त भाइरस सोही क्षेत्रबाट आएका एक नेपालीमा पनि देखिएपछि सङ्क्रमण बढ्न सक्ने आशंकामा सरकारले विभिन्न क्षेत्रमा डेस्क स्थापना गरेर सङ्क्रमण फैलन नदिन आवश्यक तयारी थालिसकेको छ ।  

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालको अवस्था सामान्य रहेको भन्दै डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो । सावधानी अपनाएर काममा लाग्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो। 
    
नोभेल कोरोना भाइरस विश्वका २२ बढी मुलुकमा देखिइसकेको छ । यसले रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् । शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ। 
    
नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो । रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ । 


प्रतिक्रिया दिनुहोस्