आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना, ‘मोखा’ चक्रवातको प्रभाव नरहने

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १० : ४७


काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ ।

उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिएको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।


प्रतिक्रिया दिनुहोस्