संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  २ : ३८


काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक आज साँझ ६ बजे सिंहदरबारमा बस्ने भएको हो ।

उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । उनका अनुसार नयाँ थप कार्यसूची उल्लेख छैन ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्तिम समयमा संवैधानिक परिषद सबन्धी (संशोधन) विद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई विशेषाधिकार बुँदा थप गरेर विद्येयक ल्याइए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

यसअघि वैशाखको पहिलो साता बसेको संवैधानिक परिषद्‍को बैठकमा उक्त विषयलाई एजेन्डा बनाइए पनि प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सकेको थिएन् ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस्