काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको भन्दै स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक हुन्छ भने त्यो कसरी सम्भव हुन्छ, आउनुहोस् छलफल गरौँ।’
पोखरेलले २०४६ सालको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र नभई विदेशी लगानीका कथित विचारले सिर्जित सामाजिक अराजकता पनि रहेको टिप्पणीसमेत गरे ।
‘छयालिसको परिवर्तनपछिका ३३ वर्षमा २८ भन्दा बढी प्रधानमन्त्री हुने राजनीतिक अस्थिरताको सर्जक नेपालका राजनीतिक दल र तिनका नेताहरू मात्र हुन् कि विदेशी लगानीमा गरिएका कथित अनुसन्धानवाट प्रवाह गरिएका प्रायोजित विचारले सिर्जित सामाजिक अराजकता पनि हो ? उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।