काठमाडौँ । सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ।
काठमाडौँमा लसुनको मूल्य प्रतिकिलो रू २०० ले बढेको छ। काठमाडौँको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू ५५० पुगेको छ।
पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ। समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ।
गत सातादेखि आयात नै ठप्प भएकाले यसले बजारमा थप प्रभाव पार्न सक्ने समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार यो समयमा अन्यत्रबाट लसुनको आयात कम हुने भएकाले बजारमा चिनियाँ लसुन बढी हुने गर्छ।
आयात यसैगरी प्रभावित भए यो मूल्य अझै बढ्न सक्ने श्रेष्ठ बताउनुहुन्छ। भन्सार विभागको तथ्यांकअनुसार यस आवको पहिलो ६ महीनामा चीनबाट रू ५४ करोड ५२ लाख बराबरको ५०७८ टन लसुन आयात भएको छ। आजको आर्थिक अभियान दैनिकमा खबर छ।