दुःखको घडीमा अमेरिकाले भाइरसको त्रास फैलायो : चीन

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १२ : १४


बेइजिङ । चीनले अमेरिका माथि कोरोना भाइरसबारे अफवाह फैलाईरहेको आरोप लगाएको छ। 

चीनमा कोरोना भाइरसको संक्रमणसँगै सबैभन्दा पहिले अमेरिकाले उसका नागरिकलाई फिर्ता लगेको थियो। 

फेरि अर्को निर्णय गर्दै अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो।

अमेरिकाको यस्तो निर्णयसँगै सोमबार चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अमेरिकाको निर्णयले 'त्रास'को वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङले भने 'अमेरिकाले यो घडीमा सहयोग गर्नुको सट्टा डर फैलाइरहेको छ।'

अमेरिकाले प्रतिबन्ध लगाएपछि अष्ट्रेलिया लगायतका केही देशहरूले पनि चीनबाट आउने व्यक्तिहरूमा प्रतिबन्ध लगाएका छन्।

हङकङले पनि १३ मध्ये १० नाका बन्द गर्ने जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले सीमा बन्द भए भाइरसको झन् तिव्र गतिमा बढ्न सक्ने चेतावनी दिएको छ। किनकि मानिसहरूले अनौपचारिक रूपमा अन्य देशहरूमा प्रवेश गर्दा भाइरस फैलिने जोखिम उत्तिकै हुन्छ।

अमेरिकाले २३ जनवरीमा सबै अनावश्यक अमेरिकी कर्मचारीहरू र उनीहरूका परिवारहरूलाई वुहानबाट हटाएको थियो।

एक हप्ता पछि, अमेरिकाले अन्य धेरै कर्मचारी र उनीहरूको परिवारलाई चीनबाट फर्कन अनुमति दियो।

३० जनवरीमा विश्व स्वास्थ्य सङ्गठनले भाइरसको सम्बन्धमा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गर्‍यो।

त्यस पछि, अमेरिकाले २१ बर्ष भन्दा कमका कर्मचारीहरूका आफन्तहरूलाई चीनबाट फर्कन आदेश दियो।

अमेरिकाले हुबेइबाट फिर्ता गएका अमेरिकी कर्मचारीलाई १४ दिनसम्म अलग्गै राख्ने जनाएको छ।

चीनमा फैलिएको कोरोना भाइरसका कारण ३ सय ६१ जनाको मृत्यु भएको छ भने १७ हजार मानिस सङ्क्रमित भएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्